एउटा सानो बच्चाको आवाज सुनिन्छ । ‘बन्…दी…पु…र । बन्दीपुर ।’ एक विदेशी नागरिकले फेरि उही बच्चाले सिकाएको आवाज दोहोर्याउँछन्, ‘बन्दी…पु…र । बन्दीपुर ।’ त्यसपछि बच्चाको आवाजमा गीत सुनिन्छ, ‘बन्दीपुर जाउँ… तीन धाराको पानी खाउँ… चोखो माया लाउँ ।’ बच्चाको गीत नसकिँदै फेरि ती विदेशी नागरिकले पनि गीत गाउन खोज्छन् । तर बच्चा खुसी हुँदै कराएको आवाज सुनिन्छ, ‘एस् नेपाली । नेपाली सिकिङ ।’
केही समय अघि सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोको विवरण हो यो ।
साँझको समयमा बन्दीपुर बजारबाट केही तल तीनधारामा पुग्दा साथीहरु यही गीत सम्झिँदै रमाइलो गरिरहेका थिए । त्यहाँ भएका केटाकेटीहरु पनि त्यही गीतको नक्कल गरिरहेका थिए । हामी चारै जना हास्यौँ । हामीले हेरेपछि ती बच्चाहरु पनि केही लजाए र शान्त भए । तीनधाराको पानी पिएर हामी फेरि उकालो लाग्यौँ ।
बेलुका होम स्टेमा बास बस्दा हामीले बन्दीपुरमा भएको राम्रा हेर्न लायक स्थानको बारेमा जानकारी लियौँ । भोलिपल्ट बिहानको हाम्रो पहिलो गन्तव्य बन्यो बजारमाथिको डाँडा । जहाँबाट सूर्योदय नियाल्ने हाम्रो योजना थियो ।
बिहान झिसमिसेमा उठेर हामी उकालो लाग्न थाल्यौँ । विस्तारै उज्यालो हुँदै गयो । आकाशमा बादल ढाकेको थियो । हामी निराश भयौँ । माथि त पुगियो तर सूर्योदय हेर्न पाइएन । आकाशबाट बादल हट्ने आशामा लामो समय प्रतीक्षा गर्याैँ तर बादल हटेन ।
त्यसपछि हाम्रो दोस्रो गन्तव्यको योजना बन्यो । सिद्धगुफा । हामी ओरालो लाग्यौँ । ठाउँ ठाउँमा राखिएका सिग्नल हेरेर हामी अघि बढीरहेका थियौँ । जंगलको बाटो । आरोलो । आकर्षक सिँढी । हामी चार जना कहिले फोटो खिच्ने कहिले बस्ने गरेर ओरालो लागिरहेका थियौँ । केही विदेशी नागरिकहरु पनि हिँडेको देखिन्थे । कोही ओरालो झरिरहेका थिए । कोही उकालो ।
सायद सिद्धगुफा नजिक हामी पुग्यौँ कि भन्ने हामीलाई लागेको थियो । मोबाइलमा म्याप हेरेपछि एक जना साथीले भन्यो, हामी गुफा नजिक पुग्यौँ । सायद यहीँ तल । हामीले बाटोबाटो हिँड्नु भन्दा अलिकति जंगलतर्फ हिँडेर छिटो पुगिने रहेछ भन्ने निष्कर्ष निकाल्यौँ । सबैले सल्लाह पनि गर्याैँ र जंगलतर्फ लाग्यौँ । जंगलमा रुखका बुटा समाउँदै हामी ओरालो झरिरह्यौँ । तर हामी जति तलतल जान्थ्यौँ जंगलभित्र हिँड्न उति गाह्रो हुन्थ्यो । करिब आधा घण्टा जंगल हिँडेपछि हामी एउटा खोँचमा पस्यौँ ।
तल ठूलो भिर थियो । तल जान सम्भव थिएन । अब हामी जताबाट आएको त्यतैतिर फर्किनुपर्ने भयो । यतिबेलासम्म बिहान करिब १० बजिसकेको थियो । पानी तिर्खाले सबै ब्याकुल भइसकेका थियौँ । बोकेको पानी सकिसकेको थियो । खाना खान बन्दीपुर फर्किने सोचका साथ निस्काएका हामीलाई भोक पनि लागिसकेको थियो ।
फेरि हामी फसेको खोचबाट बिस्तार बाहिर निस्कने प्रयत्नमा लाग्यौँ । हामीले जताबाट आएको त्यतैतिरको बाटो पहिल्याउँदै अगाडि बढ्यौँ । आरालो त खासै हिँडेजस्तो लागेको थिएन । तर उकालो हिँड्दा थाहा पायौँ । हामी निकै तल पुगिसकेको रहेछौँ । खोँचबाट निस्कने क्रममा एक जना साथीको चस्मा हराएछ र अर्को एकजनाको क्यामेराको लेन्स ढाक्ने कभर हराएछ । त्यतिबेला थाहा भएन निकै पछि माथि आएपछिमात्र थाहा पायौँ ।
भोक र तिर्खाले हिँड्न साह्रै गाह्रो भएको थियो । विस्तार विस्तार हामी माथि आयौँ । हिँड्न नसकेर कहिले लौरोको सहारा लिन्थ्यौँ । कहिले बस्थ्यौँ । अघिल्लो दिन ठूलो पानी परेकाले जंगल उक्लिँदा चिप्लिएर लड्ने डर पनि उत्तिकै थियो । हिँड्दा कहिले काँडाले कोर्थ्यो कहिल रुखका बुट्टाले । हामी जहाँबाट जंगल पसेका थियौँ । त्यही ठाउँमा करिब तीन घण्टापछि आइपुग्यौँ । भोक तिर्खाले व्याकुल बनेको शरीरमा फेरि एक किसिमको ऊर्जा आयो । हामी बाटोबाट विस्तार आरालो लाग्यौँ ।
हामी जुन ठाउँबाट जंगलतर्फ लागेका थियौँ । सिधाबाटो हिँड्दा करिब १० मिनेटमा नै सिद्धगुफा पग्ने रहेछौँ । गुफा पुग्ने छेउमा पानीको धारो रहेछ । सबैले पानी पियौँ । फेरि शरीरमा ऊर्जा थपियो र गुफामा प्रवेश गर्याैँ ।
अन्य गुफाभित्र पस्दा स्वासप्रश्वासका लागि अक्सिजन सिलिण्डर लिएर जानुपर्ने हुन्छ अन्यथा भित्र पुगेपछि अक्सिजन अभाव हुन्छ । हामीले यी कुरा मध्यनजर गरेर पहिला नै गुफाको बारेमा अध्ययन गरेर गएका थियौँ । हामीलाई थाहा थियो यो गुफा ठूलो स्पेसको भएकाले अक्सिजनको अभाव हुँदैन ।
समुद्री सतहबाट ६५० मिटरको उचााइमा रहेको यो गुफा ४४० मिटर लामो र ९६ मिटर उचाइको रहेको छ । यो गुफामा सजिलोसँग आउजाउ गर्न सकिन्छ । हामीले सुनेको र अध्ययनका क्रममा भेटेको यही कुराले हामी सजिलोसँग भित्र जान सफल भयौँ । अध्याँरो हुने भएकाले हामीले टर्च लाइट बालेर गुफा प्रवेश गर्याैँ । कतै उक्लिने ओर्लिने ठाउँमा सहजताका लागि डोरी र भर्याङ पनि राखिएको रहेछ । जसले गर्दा गुफा अवलोकन गर्नेहरु सजिलोसँग आवतजावत गर्न सकुन् । केही समय गुफामा बसेर हामी पुनः फर्कियौँ ।
हामी फर्किँदा बाटोभरी बाटो बिराउँदा पाएको दुःख, एक अर्कालाई भएको गाह्रो र केही समय खोँचमा बस्दा भएको बिचलित मनको बारेमा कुरा गरि हाँस्दै रमाउँदै फर्कियौँ । यो यात्राका क्रममा भोग्नुपरेको कठिनाइ अहिले पनि हाम्रो मानस्पटलमा ताजा छ ।
नोट : यो यात्रा विवरण केही समय अगाडिको हो ।