Aafno Khabar

अलपत्र युवती घर पुर्‍याइदिने भनेर ट्रकमा राखी सामूहिक बलात्कार, तीन जना पक्राउ

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

रौतहट । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनको गैँडाटारबाट भुस लिन गएको ना २ ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीन जनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयाे ।

उहाँका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।

बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्‍याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए ।

बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ । आरोपी तीनै जनामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्यादसमेत थमाइएको प्रहरीले जनाएको छ। बरामद ट्रक इलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताउनुभयाे ।

पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।