Aafno Khabar

निर्मला प्रकरणको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले पाए सफाइ

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन् । बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो ।

घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो ।

घटनापछिकाे अनुसन्धानमा मुद्दा खेपिरहेका उनीहरु सबैले सफाइ पाएकाे कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिनुभयाे ।

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिनुभएकाे थियाे भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिनुभएकाे थियाे । जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।