Aafno Khabar
creativeideas

एउटा कठिन यात्राको रोमाञ्चक अनुभुति

  • प्रदीप घिमिरे
  • २०७७ साउन १४ गते प्रकाशित

भदौको महिना । दिउँसो तीन बजेतिर चावहिलको एक रेष्टुरेन्टमा कफी पिइरहेको थिएँ । बाहिर झमझम पानी परिरहेको थियो । मोवाइलको घण्टी बज्यो । फोन गर्ने साथी थियो, कमल । फोन उठाएँ । फोन संवादमा एउटा यात्राको तय भयो, पाँचपोखरीको । को— को जाने ? मैले प्रश्न गरेँ । हामी तीन जना जाने । उसले योजना सुनायो, मैले अशोकलाई भनिसकेँ । तिमी म र अशोक । मात्र तीन जना ? मैले फेरि प्रश्न गरेँ । उसले भन्यो, अरु साथीहरुलाई पनि मैले सोधेँ तर उनीहरुले जाने इच्छा नै देखाएनन् । अब हामी तीन जना भए पनि जाने हो । उसले ढिपी गर्‍याे । मैले पनि सहमति जनाएँ ।

अब कहिले जाने ? मेरो प्रश्नको उसले उत्तर दियो । अहिले नै हिँड्ने । उसको उत्तर सुनेर म छक्क परेँ । अहिले नै, बिना तयारी ? मेरो प्रश्नमा फेरि उसले भन्यो, अँ मैले अशोकलाई भनिसकेको छु । उ आउँदैछ हामी एकैछिनमा चावहिल आइपुग्छौँ, सबै तयारी गरेर छिटो निस्किहाल । उसले यति भनेपछि म रुममा गएँ । सबै तयारी गरेँ । दिउँसोको साढे तीन बजिसकेको थियो । हामी तीन जनाको चावहिलमा भेट भयो । एक्कासी योजना बनेकोले हामी फुरुङ्ग थियौँ । हामीसँग पाँचपोखरी जानका लागि बाटोको २ विकल्प थिए । एक धुलिखेल हुँदै मेलम्ची जाने । अर्को साँखु हुँदै मेलम्ची जाने । हामी चावहिलबाट धुलिखेल हुँदै मेलम्ची जाने निष्कर्षमा पुग्यौँ । हाम्रो यात्रा चुच्चेपाटीबाट मेलम्ची जाने अन्तिम गाडीमा तय भयो ।

सिमसिम पानी परि रहेको नै थियो । अन्तिम गाडी भएकाले होेला गाडीमा खासै मानिसहरु थिएनन् । अन्तिमतिरका केही सिटहरु खाली नै थिए । गाडीमा लोक गीत ठूलो आवाजमा घन्किरहेको थियो । कोटेश्वर पुगेपछि गाडी केही समय रोकियो । अलि मानिसहरु थपिए ।

साँझ पर्नै लाग्दा हामी जिरोकिलो बाट मेलम्चीपतर्फ लागेका थियौँ । सिपाघाट पुगेपछि गाडी रोकियो । अगाडी पहिरो छ । गाडी यहाँबाट अगाडि जाँदैन । सहचालकले हामीलाई जानकारी गराए । अब हामी के गर्ने ? मेलम्ची गएर बस्ने हाम्रो योजना थियो ।

गाडीमा मेलम्चीसम्म पुग्ने अरु पनि मानिसहरु थिए । उनीहरु अब हिँडेर नै मेलम्ची जाने भनिरहेका थिए । हामीले पनि हिँडेर नै मेलम्ची गएर बस्ने योजना बनायौँ । मेलम्चीका होटलहरु बेलुका कति बजेसम्म खुला होलान् ? हामीले मेलम्ची हिँड्न लागेका त्यहाँका स्थानीयसँग सोध्यौँ । उनीहरुले बस्ने व्यवस्था बेलुका भए पनि सहजै पाइने जानकारी गराए । त्यसपछि हामी मेलम्चीका लागि हिँड्न तयार भयौँ । सिपाघाटबाट पहिरो खसेको सडकको किनार किनारबाट मोबाइलको लाइटमा हाम्रो यात्रा सुरु भयो । नजिकै इन्द्रावती खोला सुसाइरहेको थियो । अलिअलि सिमसिमे पानी पनि परिरहेको थियो ।

मेलम्ची पुग्दा राती १० बजेको थियो । बजार सुनसान भइसकेको । हामीले एक होटलको बोर्डमा लेखिएको मोबाइल नम्बरमा सम्पर्क गर्यौँ । होटलको ढोका खुल्यो । होटलको साहुनीले कोठा उपलब्ध भएको जानकारी दिइन् । हामीले खाना अर्डर गरेर हातमुख धुन थाल्यौँ । हाटलकी साहुनीले यति राति यहाँ आइपुग्नुको बारेमा जिज्ञासा राखिन् । हामीले सबै कुरा बेलिबिस्तार लगायौँ ।

……………

भोलिपल्ट बिहान मेलम्चीबाट हाम्रो पाँचपोखरीको यात्रा सुरु भयो । मेलम्ची खोला तरेर इन्द्रावती खोलाको किनारै किनार । हरियाली फाँट । खोल्साहरुमा बगेका कलकल पानीको आवाज । हामी प्राकृतिक सुन्दरता नियाल्दै र गफिँदै अगाडि बढीरह्यौँ ।

करिब तीन घण्टाको यात्रापछि हामी तिपेनी बजारमा पुग्यौँ । त्यहाँ चिया नास्ता गरेर केही खानेकुरा किनेर झोलामा बोकेर फेरि यात्रा गर्न थाल्यौँ । तिपेनीबाट हामी केही समयपछि हाँडीखोला पुग्यौँ । इन्द्रावतीको किनारको बाटो छोडेर हामी हाँडीखोला पछ्याउनु पर्ने रहेछ । हामी त्यतातिर लाग्यौँ तर हाँडी खोलासँगको सहयात्रा अलि केहीबेर मात्र रहेछ ।

उकालो डाँडामा तीनैजना साथीहरु प्रतिस्पर्धात्मक रुपमा को पहिला पुग्ने भन्दै हिँड्ने गरिरहेका थियौँ । उकालो डाँडाहरु चढ्दा थकाइ त लाग्थ्यो तर पनि हामीले थकानभन्दा मनोरञ्जन बढी लिइरहेका थियौँ । बिहान १० बज्दा हामी धाप भन्ने ठाउँमा पुगेका थियौँ । हामीले त्यहाँ खाना खाने योजना बनाएका थियौँ । तर साथीहरु कसैलाई पनि भोक नलागेको जानकारी पछि हामीले भोताङ भन्ने स्थानमा गएर खाना खाने निधो गर्‍याैँ ।

हामी फेरि निरन्तर उकालो लागिरह्यौँ । कतै मोटरबाटो त कतै गोरेटो बाटो हिँडिरहेका थियौँ । उकालो चढिरहेको बेलामा एउटा सानो पसलमा हामीले काँक्रो देख्यौँ । पसलमा एक जना वृद्ध आमा हुनुहुन्थ्यो । उकालो बाटो अलिअलि घाम पनि चर्केको थियो । एक जना साथीले सोधिहाल्यो । आमा यो काँक्रो बेच्न राखेको हो ? आमाले उत्तर दिनुभयो हो बाबू । उहाँले फेरि प्रश्न गर्नुभयो, बाबूहरु पाँचपोखरी हिड्नुभएको हो ? हामीले हो भनेपछि उहाँले हामीलाई बस्न आग्रह गर्दै भन्नुभयो, बस्नुस् न म नुन खुर्सानी पनि पिसिदिन्छु ।

हामी काका्रे खाइसकेपछि आमालाई पैसा र धन्यवाद दिएर फेरि अगाडि बढ्यौँ । ती आमाले नै देखाइदिनुभएको बाटो हामी हिड्यौँ । निकै तल इन्द्रावती बगिरहेको देखिन्थ्यो । हामी प्रकृतिको हरियालीमा रम्दै कहिले बस्दै कहिले झोलामा बोकेका खानेकुरा खाँदै करिब २ बजेतिर भोताङ पुग्यौँ ।

भोताङ पुगेर हामीले खाना खायौँ । हामी मेलम्चीदेखि बिहान हिँडेको भन्ने सुनेर होटलका साहु साहुनीले तपाइँहरु त धेरै हिँड्नुभएछ भन्ने प्रतिक्रिया दिनुभयो । खाना खाइसकेपछि हामी फेरि अगाडि बढ्यौँ । अलिअलि पानी पर्न लागेको थियो । छिम्ती भन्ने स्थानमा पुग्दा पानी ठूलै पर्न थाल्यो । रेनकोट ओढेर झोला बोकेर हामी निरन्तर हिँडिरह्यौँ । छिम्ती भन्ने ठाउँसम्म मोटरबाटो पुगेको रहेछ । त्यहाँबाट त पुरै उकालो सिँढी चढ्नुपर्ने ।

केही विदेशी नागरिकसहित अरु केही मानिसहरु पनि यात्रा गरिरहेका थिए । हामी उनीहरुलाई उछिन्दै अघि बढ्यौँ । साउनको महिना भएकाले खोल्साहरु ठूला थिए । हामी केही स्थानीयहरुसँग कुरा गर्दै अघि बढ्यौँ । उकालो चढ्दै गर्दा बेलाबेला फोटो भिडियो पनि खिचिरहेका थियौँ । चाउचाउ, बिस्कुट र रेडबुल पनि हाम्रो यात्राको सारथी थियो ।

भोताङबाट निस्कने बेलामा हामीलाई त्यहाँका स्थानीयले आज तपाइँहरुको बास देउराली भन्ने स्थानमा हुन्छ भनेका थिए । हामीले देउराली भन्ने स्थान कहाँ रहेछ भनेर खोजी गरेर हिँड्यौँ ।

साँझ पर्न लागिसकेको थियो । देउराली भन्ने स्थानमा पुग्दा । एकजना दाइको होटल रहेछ देउरालीमा । हामीले त्यहाँ बसेर चिया खायौँ । दाइलाई त्यहाँको बसाइबारे सोधिखोजी गर्‍याैँ। तपाइँहरु कहाँबाट आउनुभएको ? दाइको प्रश्नको उत्तरमा हामीले भन्यौँ, बिहान मेलम्चीबाट हिँडेको । त्यसपछि उहाँले भन्नुभयो तपाइँहरु त आज टुप्पीडाँडा भन्ने स्थानसम्म पुग्नुहुन्छ यसरी नै हिँड्नुभयो भने त ।

उहाँको कुरा सुनेपछि हामीले केही नसोची टुप्पी डाँडा गएर बस्ने निधो गरिहाल्यौँ । हामी चिया खाइसकेपछि त्यहाँबाट निस्कियौँ । जंगल थियो अलिअलि पानी पनि परिरहेको थियो । जुकाले टोक्न थालिहाल्यो । धेरै हिँडेकाले होला थकान महसुस भएर पाइला नै उचाल्न नसकिने भइसकेको थियो । पानीले भिजेका जुत्ता पनि गह्रौँ भएजस्तो अनुभुति हुन्थ्यो ।

सूर्यको किरण विस्तारै पश्चिम दिशामा ढल्किसकेको थियो । नजिकै होटल तथा गोठहरु केही देखिएका थिएनन् । हामीलाई डर लाग्न थालिसकेको थियो । कतै टुप्पीडाँडा सम्म हामी पग्न नसक्ने पो हो कि ? हिँड्न पनि निकै गाह्रो भइसकेको थियो । हामी तीनैजना चिन्तित बन्यौँ । बाटोका छेवैमा बस्यौँ ।

अलि तलबाट एउटा सानो भाइ डोकोमा केही सामान बोकेर माथितिर आइरहेको थियो । भाइ नजिकै आएपछि हामीले सोध्यौँ । भाइ कहाँसम्म जाने हो ?

उसले उत्तर दियो, टुप्पी डाँडा ।

हामीमा ऊर्जा थपियो । हामीले फेरि सोध्यौँ, टुप्पी डाँडा पुग्न अब कति समय लाग्छ ?

यहीँ अलि माथि हो । उसले शेर्पा लवजमा उत्तर दियो ।

हामी नजिकै उसले डोको बिसायो । हामी पनि टुप्पी डाँडामा बस्ने हो आज भनेर हिँडेका हिँड्नै सकिएन हामीले भन्यौँ । हाम्रो कुरा सुनेपछि उसले भन्यो माथि मेरो दाइको होटल छ त्यहीँ बस्ने भए म कुरा गर्दिन्छु । हामीले भन्यौँ त्यसो भए हामी सँगै जाऔँ हामी त्यहीँ बस्छौँ ।

भाइ डोको बोकेर अघि लाग्यो हामी उसलाई पछ्याउँदै हिँड्न लाग्यौँ ।

हामीले सोध्यौँ भाइले डोकामा के बोकेको ?

उसले आफ्नै लवजमा उत्तर दियो, भेर बोकेको ।

के हो ? भेर भनेको हामीले बुझेनौँ ।

भेर हो के भेर उसले फेरि भन्यो । हामी अलमलमा पर्‍याैँ ।

फेरि उ बोल्यो भेर था छैन तपाइँहरुलाई बोत्तलको भेर ।

डोको नजिक पुगेर हामीले हेर्‍याैँ । भाइले वियर बोकेको रहेछ ।

हामी मज्जाले हास्यौँ । उसले वियर भन्न खोजेको रहेछ । उसको लवजमा हामीले भेर सुन्यौँ ।

भाइले अब पुग्नै लागियो भनेको बाटो हामीले एक घण्टा हिँडिसकेका थियौँ । रात पर्न लागिसकेको थियो । तर अझै कति हिँड्नुपर्ने हो हामीलाई थाहा थिएन । हामीले अब कति समय लाग्छ भनेर सोध्दा भाइले हामीलाई आइपुग्न लाग्यो भन्ने मात्र उत्तर दिन्थ्यो ।

झमक्क साँझ परेपछि हामी टुप्पी डाँडामा पुग्यौँ । टुप्पी डाँडामा बास बस्नेहरु धेरै रहेछन् । हामीले निथ्रुक्क भिजेको ज्यान आगोमा सेकायौँ । त्यसपछि ज्यान तताउन तातो पानी पनि पियौँ । होटलमा २ जना दाइहरु थिए । सँगै आएको भाइले बोलेको सुनेर हामी हाँस्थ्यौ । शेर्पा लवजमा बोलेका उसका कुरा हामी नबुझेर पटक पटक सोध्थ्यौँ । हामी मेलम्चीदेखि हिँडेर आएको भनेको सुन्दा होटलमा बास बसेका मानिसहरु छक्क परे । खाना खाएर हामी सुत्यौँ । रातभरी पानी परिरहेको थियो । बिहानीपख पानी पर्न रोकिएछ । हामी बिहान चिया पिएर फेरि गन्तव्यतर्फ लाग्यौँ ।

……………..

भोलिपल्ट बिहान खासै हिँड्न सकिएन । पाँचपोखरी जाने र आउनेका लर्को चलिरहेको थियो । थकानको बाबजुद पनि हामीलाई उत्सुकताको वजनले उचालिरहेको थियो । हामी फर्किरहेका मानिसहरुलाई सोधिरहन्थ्यौँ पाँचपोखरी पुग्न कति समय लाग्छ ? उनीहरुको उत्तरले हामी कहिले निराश हुन्थ्यौँ । कहिले उत्साहित हुन्थ्यौँ ।

हिजो हामी सबैलाई उछिन्दै अघि हिँडेका थियौँ । आज हामीलाई अरुले पछाडि छोडेर हिँडिरहेका थिए । नाक ठोक्किएला जस्तो उकालो बाटो पुरै चट्टानै चट्टानले बनेको थियो ।

चट्टानका बीचमा देखिएको खुल्ला चौर, खोल्सामा बगेका सफा पानी प्रकृतिको अनुपम छटाले फेरि थकान भुलाएर हामलिाई ऊर्जा दिन्थ्यो । हामीले बाटो छेउमा भएका चट्टानहरुमा बसेर खाजा खाएर निरन्तर उकाली लागिरह्यौँ ।

करिब १० घण्टाको तीव्र हिँडाइपछि हामी प्रकृतिको सुन्दर नगरी पाँचपोखरी पुग्यौँ । चारै तिर अग्ला चट्टानको बीचमा पाँचपोखरी मुस्कुराइरहेको थियो । पोखरीमा टल्किएका पानी अनि त्यहाँ फुलेका झारहरुले हाम्रो स्वागत गरिरहे जस्तो लाग्थ्यो । पाँचपोखरी सम्म पुग्नका लागि बाटोमा भएका सबै कठिन एकैछिनमा भुल्यौँ ।

वास्तवमा भन्ने हो भने हामी धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सुन्दरता नियाल्ननका लागि यो यात्रामा निस्किएका थियौँ । पाँचपोखरीको मौसम छिनमै खुल्थ्यो । छिनमै कुहिरो लाग्थ्यो । हामी खुलेको बेलामा तस्बिर खिच्न व्यस्त हुन्थ्यौँ । कहिले माथि डाँडामा त कहिले ती सुन्दर पोखरीका किनारमा हामी रमाइरह्यौँ । लामो समय बस्न मन लागिरहे पनि हामी फेरि बस्नका लागि सकेसम्म हिजो बसेको होटलमा नै पुग्न पाए सजिलो हुन्थ्यो भन्ने अपेक्षाका साथ फर्किने तयारीमा लाग्यौँ ।

पाँचपोखरमिा स्नान पनि गर्यौँ । मन्दिरको पूजाआजा सकेर हामी फेरि फर्किने तयारमिा लाग्यौँ । बेलाबेलामा पानी पथ्र्यो । बेलाबेलामा मौसम राम्रो हुन्थ्यो । रुप फेरिरहने यहाँको मौसम पनि बडो गजबको थियो ।

उकालो बाटो हिँड्न गाह्रो भए पनि ओरालो बाटोमा हाम्रो हिँडाइ पुनः तीव्र भयो । फेरि हामी पाँचपोखरी यात्रामा जाँदा पाएको कष्ट सम्झदै आरालो ओर्लिन थाल्यौँ । हाम्रो योजना थियो । हिजो बास बसेको ठाउँमा नै आज पनि बास बस्ने । तर समयले नेटो काटिसकेको थियो । त्यही पनि हिम्मतका साथ हामी अघि बढिरह्यौँ ।

हामी पुनः त्यही स्थानमा बास बस्न आइपुग्न सफल भयौँ । तर हिँडाइ धेरै भएकाले होला गोडा सुनिन थालेका थिए । हामीले भोलिपल्ट आरामले जाने निधो गर्यौँ र बेलुकाको खाना खाएर सुत्यौँ ।

………….

भोलिपल्ट बिहान उठ्दा गोडा झन् धेरै सुन्निएका थिए । बिहान उठेर हिँड्न सकिएन । विस्तारै ८ बजेतिर हामी निस्कियौँ । जाने बेलामा उकालो हिँडेको स्मरण गर्दै चिप्लो बाटोमा ओराली लाग्दा झन् आनन्द र मज्जा आइरहेको थियो । खोँचहरुमा बसेको कुहिरो बिहान आकाशतर्फ उडिरहेका दृश्यले मन रोमाञ्चित हुन्थ्यो ।

बाटोमा बनाइएका छाप्रा र गोठहरुमा निर्माण गरिएका चिया पसलहरुमा चिया पिउँदै हामी विस्तारै ओराली लाग्यौँ । खाना खाने समयका छिम्ती आइपुगेका थियौँ । बिहानको खाना खाएपछि हामी झन् हिँड्नै नसक्ने भइसकेका थियौँ । हिँड्न गाह्रो भइरहेको यस्तो अवस्थामा हामीले स्थानीय होटलमा छिम्तीबाट सवारीसाधनमा हाँडीखोलासम्म फर्कन पाइन्छ भन्ने जानकारी पायौँ । यसले हामीलाई थप ऊर्जा मिल्यो । त्यसपछि हामी हतारहतार सवारी साधन पाइने भनेको ठाउँमा पुग्यौँ । गाडीमा जान पाइने भएपछि साथीहरु पनि फुरुंग परेका थिए ।

हाँडिखोलासम्म जानका लागि एउटा ट्रक बसेको रहेछ । हामीले त्यहाँ पुगेपछि थाहा पायौँ । ट्रकमा अन्य पनि धेरै मानिसहरु थिए । हामीले ट्रक नै चढेर भए पनि जाने निधो गर्‍याैँ । हामलिाई हिँड्न साह्रै गाह्रो भइरहेको थियो । त्यसपछि हामी ट्रक चढ्यौँ । लगभग १५ किलोमिटर जति दूरीको ट्रक भाडा ५ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको रहेछ । हामीले खुशीसाथ भाडा पनि दियौँ । त्यसपछि हामी फेरि मेलम्चीका लागि हिड्न थाल्यौँ ।

खुट्टा सुन्निएर म हिँड्न नसक्ने भइसकेको थिएँ । साथीहरु पनि विस्तारै हिँडिरहेका थिए । बेलाबेलामा उनीहरुलाई पछ्याउँदै कहिले अगाडि त कहिले पछाडि लागेर म मेलम्चीसम्म आइपुगेँ । त्यसपछि मेलम्ची पुलमा बसेर हामी तीनै जनाले जाँदादेखि आउँदासम्मका तस्बिर हेर्न थाल्यौँ । मेलम्ची र इन्द्रावतीको दोभान नजिक हामी पिपलको छहारीमा धेरै समय बस्यौँ । दिन ढल्किँदै थियो । त्यसपछि हामी मेलम्ची बजारतर्फ ओर्लियौँ ।

नाेट : याे यात्रा विवरण सन् २०१८ अगस्ट महिनाकाे हाे ।