Aafno Khabar

रञ्जन कोइरालाको कैद घटाउने फैसला पुनरावलोकन हुने

  • आफ्नो खबर
  • July 26, 2020 प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएको छ । श्रीमतीको हत्यामा दोषी ठहर भएका कोइरालाको कैद सजाय कटौती गर्ने सर्वोच्चले फैसला गरेको थियो ।

फैसलाविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले पुनरवलोकन गर्ने अनुमति दिएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मीको इजालसलले पुनरवलोकनका लागि अनुमति दिएको सर्वोच्चले जनाएको छ ।

अनुमतिसँगै रञ्जनविरुद्ध दायर भएको कर्तव्य ज्यान मुद्दा शून्यबाट फेरि सुनुवाइको बाटो खुला भएको छ । पूर्वडीआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलासले मुलुकी संहिताको अदालती बन्दोबस्तको महल १८८ प्रयोग गरी गएको असार १५ गते कोइरालाको सजाय २० वर्षबाट साढे आठ वर्षमा झारिदिएको थियो ।

पुनरवलोकनका अनुमति पाएसँगै मुद्दा फेरि विचाराधीन बनेको छ । अब यो मुद्दा पाँच जना न्यायाधीशको इजालसमा सुनुवाइ हुनेछ । कोइरालाले २०६८ साल पुस २७ गते श्रीमती गीताको हत्या गरेका थिए ।