Aafno Khabar

वाराणसीमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नक्कली नेपाली नागरिक बनेको खुलासा

  • July 18, 2020 प्रकाशित

भारतको वाराणसीमा जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनीमाथि स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर ‘नेपाली’ बनाएको रहस्य खुलेको हो ।

वाराणसीका एसएसपी अमित पाठकले भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक भएकाे बताएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो । भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो ।

भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।

प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनको नाम धर्मेन्द्र सिंह रहेको खुलेको हो । उनले १ हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छन् ।

लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि १ हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरूबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ ।