Aafno Khabar

करिब ५ सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध

  • July 11, 2020 प्रकाशित

काठमाडौं । देशभर भएको वर्षात् र बाढीका कारण विद्युत् आयोजनामा क्षति पुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण मातहतका २४० मेगावाट र निजी क्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । यस्तै, प्राधिकरणको स्वामित्वका ७० मेगावाटको मध्य मर्स्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह अहिले बन्द भएका छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीको उत्पादन पनि बन्द भएको छ ।

यस्तै, इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएकाे छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बन्द भएका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन यथाशीघ्र सञ्चालन गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्न प्राविधिक टोली खटिइसकिएकाे छ ।