भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका छन् । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मध्य प्रदेशका गृहमन्त्री नराेत्तम मिश्रले दुबे पक्राउ परेकाे पुष्टि गरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
गृहमन्त्री मिश्रले दुबेलाई पक्राउ गर्नु उत्तर प्रदेश प्रहरीको ठूलाे सफलता रहेकाे पनि बताएका छन् । यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चाैहानले पनि उनकाे पक्राउकाे विषयलाई लिएर उत्तर प्रदेश प्रहरीलाई बधाइ दिएका छन् ।
उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो ।
६ दिनअघि कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि अन्धाधुन्ध गोलीबारी भएकाे थियाे । जसका कारण ८ प्रहरीको ज्यान गएकाे थियाे । भारतमा हालसम्म प्रहरीमाथि भएको हमलामा यो सबैभन्दा ठूलो घटना बताइएको छ । विकास दुबेको आपराधिक इतिहासमात्रै होइन उनीविरुद्ध विभिन्न गम्भीर मुद्दासमेत दर्ता छन् ।
दुबेमाथि सन् २००१ मा पुलिसथाना भित्र प्रवेश गरेर बिजेपीका दर्जा प्राप्त राज्यमन्त्री सन्तोष शुक्लाको हत्या गरेकाे आराेप थियाे । सन्तोष शुक्ला हत्याकाण्डले पूरा प्रदेश हल्लाएको थियो तर प्रहरीदेखि कानूनसम्मले उनको केही बिगार्न सकेकाे थिएन । उनीविरुद्ध ६० भन्दा बढी मुद्दा दर्ता छन् ।