विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस हावाका माध्यमबाट पनि सर्न सक्ने केही प्रमाणहरु फेला परेको जनाएको छ । वैज्ञानिकहरुको एक समूहले श्वासप्रस्वाससम्बन्धी यस रोग कसरी हावाका माध्यमबाट सर्न सक्छ भन्ने गाइडलाइन बुझाएपछि डब्लूएचओले यस्तो जानकारी दिएकाे हाे ।
डब्लूएचओको कोभिड-१९ पान्डेमिकको प्राविधिक समूहकी प्रमुख मारिया भान केर्कोभले मंगलबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा हावाबाट वा हावाका माध्यम पनि कोभिड-१९ सर्न सक्ने केही प्रमाणहरु फेला परेको तर यो नै अन्तिम निष्कर्ष नभएको बताएकी छिन् ।
डब्लूएचओले यसअघि कोभिड-१९ स्वासप्रस्वास सम्बन्धी रोग भए पनि हावाबाट नसर्ने र संक्रमित व्यक्तिको नाक र मुखबाट निस्किने थुक तथा सिँगानका छिटाबाट सर्ने बताएको थियो ।
सोमवार ३२ देशका २३९ जना वैज्ञानिकहरुले लेखेको खुला पत्रमा हावामा रहेका भाइरसका अंशले स्वस्थ मानिस संक्रमित पार्न सक्ने बताएका थिएका थिए। उनीहरुले यससम्बन्धी केही तथ्य तथा प्रमाणहरुसमेत पेश गरेका थिए ।
खुला पत्रमा हस्ताक्षर गरेका युनिभर्सिटी अफ कोलोराडोका वैज्ञानिक जोसे जिमेनेजले डब्लूएचओले प्रमाणहरुकाे बारेमा अध्ययन गराेस् भन्ने चाहाना राखेकाे समाचार संस्था राेयटर्सले उल्लेख गरेकाे छ ।
यसबारेमा अध्ययन गरिने र निष्कर्ष निकालिने डब्लूएचओले जनाएकाे छ ।