Aafno Khabar
suvakamana add

लोकसेवा आयोगको पहिलो चरण परीक्षा भएका कार्यक्रम स्थिती सामान्य भएपछि सञ्चालन हुने

  • २०७७ जेष्ठ ५ गते प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा अवस्था सामान्य भएपछि लिने भएको छ ।

सोमबार बसेको लोक सेवा आयोगको बैठकको निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुनेछ ।

यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो । गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको थियो । सोमबार आयोगको बैठकले त्यसबारे औपचारिक निर्णय गरेको हो ।

यस्तै दरखास्त संकलन भैसकेका तर कुनैपनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा भने सरकारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ ।

२०७६ फागुन २८ मा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य समेत यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय भएको छ । दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ ।

नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि उक्त विज्ञापनहरुको परीक्षा कार्यक्रम भने स्थगन गरिएको छ ।

यस्तै आयोगको स्वीकृत वाषिर्क कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगित गर्ने निर्णय पनि आयोगको बैठकले गरेको छ ।

न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ । न्याय सेवाले आयोगलाई परीक्षा नगर्ने भनेमा आयोगले सोबारे आवश्यक निर्णय लिने छ । विभिन्न संस्थानहरुको हकमा पनि यही नियम लागु हुने आयोगले जनाएको छ ।