एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ भने संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ ।
२४ घण्टाको अवधिमा विश्वभर ९५ हजार ६ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टाको अवधिमा ५ हजार ३ सय ६ जनाको ज्यान गएको छ ।
विश्वभर करिब ४५ हजार बढीको मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख १६ हजारको स्वास्थ्य अवस्था सामान्य छ । उपचारपछि घर फर्कनेको संख्या १७ लाख बढी रहेको छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण ज्यान गइसकेको छ ।
अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत रहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७०४ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा ज्यान जाने व्यक्तिको कूल संख्या ८६ हजार ९०१ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेको इटाली, स्पेन र फ्रान्समा पनि मृत्युदर घट्दो क्रममा छ । विगत २४ घण्टाको अवधिमा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ ।