बंगलादेशस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर मानिएको रोहिंग्या शरणार्थी शिविरमा पनि कोरोना प्रवेश गरेको छ । रोहिंग्या शिविरमा रहेका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्ने दुई रोहिंग्यामा संक्रमण पुष्टि भएपछि चिन्ता थपिएको छ ।
यो शिविरमा म्यानमारमा भएको हिंसाबाट जोगिनका लागि भागेर आएका करिब १० लाख रोहिंग्या बस्दै आएका छन् ।
संक्रमण पुष्टि भएका दुई रोहिंग्यालाई आइसोलेशनमा राखेर उपचार थालिएको बिबिसीले जनाएको छ ।
शिविरका करिब १९ सय शरणार्थीलाई आइसोलेशनमा राखिएको छ भने उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण हुने छ ।
रोहिंग्या शिविर मार्च १४ देखि लकडाउनमा छ । शिविरमा कोरोना भाइरसको संक्रमण फैलिएमा भयावह हुनसक्ने जनाइएको छ ।
कक्स बजारस्थित शिविरका साँघुरा टहरामा स्वच्छ पानीको पहुँच समेत नभएको बताइएको छ ।
बंगलादेशस्थित सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्तीमा भाइरसको प्रवेश गरेकाले यसबाट हजारौँ व्यक्तिको ज्यान जोखिममा रहेको बताए ।
यो शिविरमा प्रति एक वर्गकिलोमिटरमा ४० हजारदेखि ७० हजार शरणार्थी बस्न बाध्य भएकाले त्यहाँ सामाजिक दूरी कायम गर्नसमेत गाह्रो हुने चेतावनी दिइएको छ ।