Aafno Khabar
creativeideas

“विधवा पिपल” (कविता)

  • २०७६ चैत्र ८ गते प्रकाशित

जोगी ओडारमुनिको बाटो भएर पारी पाटन पुग्दा,
साँझपख माथिल्लो डाँडाको एक्लै सुसाउने पिपल,
ठ्याक्कै देखिन्थ्यो, ठूलीआमाको आवाज बोकेको आकृति जस्तो ।

सानैमा वरलाई टोकेको बूढो पिपल यति उत्ताउलो हुँदा पनि छिमेकिहरु माैन छन्,
चराचुरुङ्गीहरु हाँगाहरुमा बस्छन्,
नव विवाहित दम्पतीहरु आशीर्वाद लिन आउँछन्,
हामी त ठूलीआमालाई “पोई टोकुवा” र “अलछिनी” भन्छाैं ।

साँच्चै बिहान कतिको साइत बिगार्छ होला त यो बिधवाले ?
पटकपटक नयाँ वरको जरा सुक्दै जाँदा पनि कसैले “दोघरे” भनेका छैनन्
ठूलीआमा १२ बर्सकी हुँदा ४ दशक पार गरेको
क्यान्सर पिडित श्रीमान टोकेको आरोप सहजै स्विकार्छिन्
प्रत्येक शुभ र पुण्य काममा आफै पछाडि हट्छिन्,
कोहि पुरुषलाई नजर नलागोस् भनि
बालदुलही हुँदाको भन्दा लामो घुम्टो ओढ्छिन् ।

हिजो मात्रै बुबाको झोलाबाट खसेको किताबको एक पानामा लेखिएको थियो,
‘जार’ काटिएको,
जिससलाई फाँसि दिएको,
टाइटानिक डुबेको इतिहास
सायद ठूलीआमाका नजर त्यहाँसम्म पनि पुगेका थिए ।

गाउँमा जड्याहा लड्दा,
जुवारीले जुवा हार्दा,
कसैकी छोरी पोईल जाँदा,
कसैको छोरो नालायक निस्किँदा,
भैंसीले कम दूध दिँदा,
बालबच्चालाई ‘चोखा’ लाग्दासमेत आफैँलाई स्वत: जिम्मेवार ठान्ने
ठूलीआमाले कहिल्यै सुसाउन सकिनन् डाँडाको पिपलजस्तो ।
उनी आफ्नै चुहिने छानोमुनि,
चुकुल नलाग्ने ढोकामा,
लगाउन नमिल्ने राता-काला कपडाको गाता लगाएर चुपचाप अर्को जुनीको सपना देख्छिन् ।

टाइवर र टिग्रीसको किनारमा भेटिएका
बस्तीजस्ता बिहेका एकजोर गहना र कपडामा,
आफ्नो अनुहारसमेत नदेखेको श्रीमानको याद पोख्छिन्
र पोको पार्छिन्
तेजाबरुपी ती यादहरुलाई मलमको संज्ञा दिएर एक हलो,
आफूजस्तै,
बाँझोमा आफ्नो एकाधिकार जमाउँछिन् ।

कसैको खबर आएन उनको दैलोमा,
कहिल्यै काग कराएन उनको घर अगाडीको बाँसको खम्बामा,
कहिल्यै हुलाकीले टेकेन उनको आँगन,
कहिल्यै महिला सशक्तीकरण को झिल्को छिरेन उनको झुपडि को झ्यालमा ।
जिन्दगी डाँडाको पिपल कि ठूलीआमा ?

©कल्पना जोशी । धनगढी

सम्बन्धित शीर्षकहरु