काठमाडाैं । विश्वभर आतंक मच्चाएको कोरोना भाइरसको संक्रमणबाट ११ हजार ४ सय २ जनाको ज्यान गएको छ । यस्तै, शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाकाे संक्रमणबाट २ लाख ७६ हजार १ सय १३ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ ।
यस्तै, ९१ हजार ९ सय १२ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७ सय ६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । शुक्रबार मात्रै ३० हजार ८ सय ५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ३ सय ६६ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।
हाल विश्वको सबैभन्दा बढी खतरनाक अवस्थामा इटलीमा कोरोनाको महामारी देखिएको छ । इटलीमा हालसम्म सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी मानिस संक्रमित पनि छन् । शुक्रबार मात्रै इटलीमा ६ सय २१७ जनाले ज्यान गुमाएका छन् । यो संगै इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ।
शुक्रबार मात्रै इटलीमा ५ हजार ९ सय ८६ जना संक्रमित फेला परेका छन् । यो संगै इटलीमा संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ ।
इटलीपछि जर्मनी, इरान, अमेरिका, स्पेन, फ्रान्स, दक्षिण कोरिया, स्विट्जरल्याण्ड, नेदरल्याण्ड र टर्कीमा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् ।