Aafno Khabar

निर्भया बलात्कार : मृत्युदण्डपछि निर्भयाका माता पिताले के भने ?

  • March 20, 2020 प्रकाशित

एजेन्सी । सन् २०१२ मा भारतमा भएको निर्भया बलात्कार र हत्याका चार दोषीलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको छ । उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भयाका परिवारले न्यायको जित भएको बताएका छन् ।

उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भयाका माता आशा देवीले न्यायपालिकामाथि धन्यवाद दिँदै भनिन् ‘ म न्यायपालिका, सञ्चार माध्यम, राष्ट्रपति र तपाइँहरु सबैमा धन्वयाद दिन चाहन्छु, सात वर्षको संघर्षको आज जित भएको छ । आजका दिन हाम्री छोरी र महिलाहरुको नाममा छ जब निर्भयालाई न्याय मिल्यो ।’

‘मेरो छोरी त अब फर्किने छैन तर हामी भारतका महिला सुरक्षित राख्न आफ्नो लडाइँ जारी राख्नेछाैँ । देषीकाे फाँसी दिइएलगत्तै मैले आफ्नी छोरीको तस्बिर हेरेँ र उसलाई भने कि आखिर तिमिलाई न्याय मिलेरै छोड्यो, मैले उसलाई बचाउन सकिनँ, यसप्रति दुःख छ तर मलाई त्यसमा गर्व छ कि आज आमाको धर्म पूरा भयो ।’

अभयाका पिता बद्रिनाथ सिंहले देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि मानिसहरुले न्याय पाउन यति लामो प्रतिक्षा गर्न नपरोस् भनी प्रतिक्रिया दिएका छन् ।

सात वर्षकाे लामाे कानुनी लडाइँपछि २० मार्च २०२० मा चार जनामाथि फाँसीकाे सजायँ सुनाइएकाे हाे । शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई फाँसी दिइएकाे हाे ।

यी चारजनामाथि सन् २०१२ मा एकजना पुरुष साथीसँग बसमा यात्रा गरिरहेकाे बेलामा २३ वर्षीया फिजियाेथेरापी छात्रा बलात्कार गरेकाे आराेप थियाे । उनीहरुले छात्रा र उनका साथीमाथि आक्रमणसमेत गरेका थिए । केही दिनपछि छात्राकाे निधन भएकाे थियाे ।

बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो । घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो । सिंहले जेलमा नै आत्महत्या गरेकाे प्रहरीले जनाएकाे थियाे ।

त्यस्तै, घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग रहेकाे र ३ वर्ष सुधार गृहमा राखी रिहा गरिएकाे थियाे ।

बिहीबार निर्भया बलात्कारका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए । यसपछि उनीहरुलाई मृत्युदण्ड दिइएकाे हाे ।

निर्भया बलात्कारका दोषीमाथि कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।

याे पनि पढ्नुहाेस् ।

निर्भया बलात्कार तथा हत्यामा संलग्न चार जनालाई दिइयाे मृत्युदण्ड