Aafno Khabar

निर्भया बलात्कार तथा हत्यामा संलग्न चार जनालाई दिइयाे मृत्युदण्ड

  • २०७६ चैत्र ७ गते ०१:४८ प्रकाशित

एजेन्सी । भारतमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिइएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो ।

बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा फाँसी दिइएकाे हाे ।

सात वर्षकाे लामाे कानुनी लडाइँपछि २० मार्च २०२० मा चार जनामाथि फाँसीकाे सजायँ सुनाइएकाे हाे । यी चारजनामाथि सन् २०१२ मा एकजना पुरुष साथीसँग बसमा यात्रा गरिरहेकाे बेलामा २३ वर्षीया फिजियाेथेरापी छात्रा बलात्कार गरेकाे आराेप थियाे । उनीहरुले छात्रा र उनका साथीमाथि आक्रमणसमेत गरेका थिए । केही दिनपछि छात्राकाे निधन भएकाे थियाे ।

बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो । घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो । सिंहले जेलमा नै आत्महत्या गरेकाे प्रहरीले जनाएकाे थियाे ।

त्यस्तै, घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग रहेकाे र ३ वर्ष सुधार गृहमा राखी रिहा गरिएकाे थियाे ।

बिहीबार निर्भया बलात्कारका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए । यसपछि उनीहरुलाई मृत्युदण्ड दिइएकाे हाे ।

निर्भया बलात्कारका दोषीमाथि कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।