एजेन्सी । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार राति कोरोना भाइरसको आशंका गरिएका एक बिरामीले आत्महत्या गरेका छन् । अस्पतालको सातौँ तलाबाट फरालेर उनले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार ३५ वर्षीय ती व्यक्ति अस्ट्रेलियाको सिड्नीबाट फर्किएपछि अस्पतालको क्वारेन्टाइनमा बसेका थिए ।
अस्पतालको एक कर्मचारी उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, आत्महत्या गर्ने व्यक्तिको कोरोना भाइरस टेस्टका लागि नमुना परीक्षण गर्न लगिएको थियो तर त्यसको रिपोर्ट भने आइसकेको थिएन ।
दक्षिण पूर्व दील्लीको डीएसपी देवेन्द्र आर्यका अनुसार आत्महत्या गर्ने व्यक्ति पञ्जाबको शहीद भगत सिंह नगरका हुन् । उनी एक वर्षदेखि सिड्नीमा बसोबास गरिरहेका थिए ।
अस्पताल प्रशासनका अनुसार बिरामी कोरोना संक्रमणको आशंकामा बुधबार राती ९ बजे अस्पतालमा भर्ना भएका थिए । उनी अष्ट्रेलियाको सिड्नीबाट भारत फर्किएका थिए र टाउको दुखेका कारण अस्पताल पुगेका थिए । उनको पोस्टमार्टमको रिपोर्ट पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।