एजेन्सी। कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।
क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए ।
अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन डिसी राज्यका छन् ।
अधिकारीहरुका अनुसार विश्वभर ९४ हजार बढी संक्रमित छन्, तीमध्ये ८० हजार जना चीनमा मात्रै छन् । विश्वभर ३ हजार २ सय जनाको कोरोनाकै कारण मृत्यु भएको छ । चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ ।
इटलीका विद्यालयहरु बन्द
कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना भाइरससँग जुध्न बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।