एजेन्सी । तालिबानले अफगान सेनासँग आंशिक रूपमा युद्धविराम भङ्ग गरेपछि अफगानिसस्तानमा पुन: लडाइँ सुरु भएको छ। त्यसबाट आगामी साता हुने भनिएको शान्तिवार्ताप्रति सन्देह उत्पन्न भएको छ।
अधिकारीहरूका अनुसार १६ भन्दा बढी प्रान्तमा दुई पक्षबीच सङ्घर्ष भएको छ। त्यहाँ भएका घटनामा आठ विद्रोही, छ सामान्य नागरिक र आठ सुरक्षाकर्मीको ज्यान गएको बताइन्छ।
अफगान सरकारले तालिबानले स्थानीय स्तरमा पुन: आक्रमण सुरु गरेको २४ घण्टामा २० जनाको मृत्यु भएको जनाएको छ।
यसैबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक तालिबान नेतासँग “धेरै राम्रो कुराकानी” भएको बताएका छन्।
गत सप्ताहान्तमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतापश्चात् उनीहरूबीच टेलिफोनमा कुराकानी भएको हो।
तालिबानका एक प्रवक्ताले अमेरिकी राष्ट्रपति र मुल्ला अब्दुल गनी बरादरबीच आधा घण्टाभन्दा लामो कुराकानी भएको बताए।
उनले दुवै नेताले अफगानिस्तानमा शान्ति स्थापना गर्ने इच्छा व्यक्त गरेको जानकारी दिए।तालिबानका अनुसार ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई अफगान राष्ट्रपति अशरफ गनीसँग कुराकानी गर्न लगाउनेछन्।
त्यसो गर्दा अफगान सरकार र तालिबानबीच वार्ता सुनिश्चित हुने र शान्ति सम्झौताअनुसार योजना बनाउन सकिने उसको भनाइ छ।