एजेन्सी – संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ६ जना पुगेको छ । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।
मृत्यु हुने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । याे क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ ।
वासिङ्टनमा पहिला २ जनाकाे मृत्युभएपछि अनुसन्धान गरिरहेका विज्ञहरुले केही समय अघिदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइसकेकाे अनुमान गरेका छन् ।
वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छिन् ।