Aafno Khabar

कोरोना भाइरसविरूद्द पहिलो औषधि परीक्षण सुरू

  • February 26, 2020 प्रकाशित

Virus Outbreak Clinical Trial

एजेन्सी – कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० भन्दा बढी बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ ।

परीक्षणमा आधा बिरामीलाई एन्टिभाइरल औषधि रेमडेसिभर दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपी विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययनहरु भइरहेका छन् ।

नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा.आन्द्रे कालीलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपछि सेन्टरले तत्कालै नयाँ औषधिको खोज सुरू गरेको बताएका थिए । कोविड–१९ सङ्क्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रुपमा खुवाउने सेन्टरको योजना छ ।

‘अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,’ डा कालीलले भने । जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ । तीमध्ये १२ जनामा कोविड–१९ को सङ्क्रमण देखिएको छ ।

नयाँ र रहस्यमय यस कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन । कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई सङ्क्रमित भइसकेका छन्, र २ हजार ७०० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन् ।

चिकित्सकहरुले ज्वरो, खोकी र सास फेर्न अप्ठ्यारो भएर उपचारका लागि आएका बिरामीलाई तरल पदार्थ र पीडा कम गर्ने औषधि मात्र दिइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले गत महिना प्रकाशन गरेको एक प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा रेमडेसिभरलाई ‘सबैभन्दा सम्भाव्य’ उपायका रुपमा स्वीकारेको थियो । कङ्गोका केही इबोला बिरामीहरूमा यो अध्ययन छोटो परीक्षणका रुपमा प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोगशालाको अध्ययनमा नयाँ कोरोना भाइरससँग मिल्दाजुल्दा सार्स र मर्सको उपचार गर्न सकिने जनाएको छ ।