Aafno Khabar

दिल्लीमा हिंसा : एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

  • २०७६ फाल्गुन १३ गते ०८:१८ प्रकाशित

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकाे दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ ।

विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीकाे भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र अन्य तीनजनाकाे मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उपचारको क्रममा मंगलबार बिहान अन्य तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । तर मृतकका बारेमा विस्तृत जानकारी भने उपलब्ध भइसकेको छैन ।

जीटीबी अस्पतालमा तीन दर्जन भन्दा बढी घाइतेहरुको अहिले पनि उपचार भइरहेको बीबीसीकाे समाचारमा उल्लेख छ ।

उत्तर–पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरूमा आइतबारदेखि हिंसा सुरु भएको थियो । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षीसँग वार्ताको तयारी गरिरहँदा भारतकाे राजधानी दिल्लीका केही भाग भने तनावपूर्ण अवस्थामा छन् ।