एजेन्सी । नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ नाम दिएको नोवेल कोरोना संक्रमणको इपिसेन्टरका
रुपमा रहेको चीनको हुबेइ प्रान्तमा भाइरसका कारण एकै दिन ज्यान गुमाउनेको संख्या नयाँ उचाईमा पुगेको छ ।
चिनियाँ अधिकारीका अनुसार हुबेइमा नोवेल कोरोनाका कारण बुधबार मात्रै २४२ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाका कारण यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।
यसअघि हुबेइ प्रान्तमा नोवेल कोरोनाका कारण मृत्यु हुनेको संख्या गएको सोमबार एकै दिन १०३ ले बढेको हो । आइतबार एकैदिन ९७ जनाको ज्यान गएको थियो ।
नोवेल कोरोना संक्रमण पनि ठूलो संख्यामा बढेको छ । बुधबार एकै दिन १४ हजार ८४० जना भन्दामा संक्रमण पुष्टि भएर उपचार सुरु गरिएको हुबेइका अधिकारीले उल्लेख गरेका छन् ।
यसअघि चीनको राष्ट्रिय स्वाथ्य संगठनले गएको मंगलबार नयाँ संक्रमणको दर पछिल्लो दुई हप्ता यताकै कम रहेको बताएको थियो। मंगलबार दुई हजार १५ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । तर बुधबार हुबेइमा भएको थप मृत्यु र संक्रमणले अवस्था भयावह भएको देखिएको हो ।
कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १३ सय ५० नाघेको छ । यस्तै झण्डै ६० हजारजनामा संक्रमण पुष्टि भएको छ ।
यसैबिच डब्लुएचओले नोवेल कोरोना भाइरसको महामारी अन्त्यका बारेमा अहिले नै बोल्न उपयुक्त नहुने बताएको छ । चीन बाहिर ४४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।