Aafno Khabar

चीनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ५९, १७ हजार सङक्रमति

  • February 1, 2020 प्रकाशित

काठमाडौं । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्वन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगका अनुसार विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुका अनुसार अन्य १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशंकामा परिक्षण गरिएको छ ।

विरामी भएका मध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ सङ्क्रमित भेटिएका छन भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परिक्षण भइरहेको छ ।

चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ । भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

यसैबीच अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन ।