काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताउनुभएको छ ।
समाचार संस्था रासससँग कुराकानी गर्दै मन्त्री ढकालले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताउनुभयो ।
अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भन्नुभयो, त्यसका लागि छुट्टै व्यवस्था गर्ने बताउनुभयो । विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने उहाँको भनाई छ ।
ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने मन्त्री ढकालले बताउनुभयो । बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने उहाँले बताउनुभयो । सरकारले अहिले १०० भन्दा बढी शैयाको विशेष उपचार कक्ष तयारी अवस्थामा राखेको उहाँको भनाई छ ।