Aafno Khabar

काेरियामा भन्दा गाउँकै खाेरियामा मनग्य आम्दानी

  • रासस
  • January 28, 2020 प्रकाशित

बागलुङ । पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ ।

बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याउनुभयो । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय शुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।

उहाँको ‘फार्म’ को क्षमता एक हजार कुखुरा अट्ने रहेको छ । जाडो मौसम भएकाले अहिले ५५० मात्र ‘ब्रोइलर’ जातका कुखुराका चल्ला हुर्कंदै छन् । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच सुनाउनुभयो । उहाँलाई श्रीमती जेनिसालगायत परिवारका सदस्यले व्यवसायमा सघाउँछन् ।

जिसी परिवारले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुशी छन् । उहाँको नजिक वैकुण्ठ उपाध्यायको कुुखुरा ‘फार्म’ छ । उहाँले पनि गत वर्षदेखि सो व्यवसाय शुरु गर्नुभएको थियो । वडा नं ३ रातमाटाका उहाँले पाखाथरमा रहेको छिमेकीको जग्गा भाडामा लिएर ‘फार्म’ सञ्चालनमा ल्याउनुभएको थियो । उहाँले अहिले वार्षिक रु ६० हजार भाडा तिर्नुहुन्छ । करिब रु सात लाख लगानीमा उहाँले दुई हजार कुखुरा अट्ने आधुनिक खोर निर्माण समेत गर्नुभएको छ । उहाँले ‘ब्रोइलर’ कुखुरा पाल्दै आउनुभएको छ ।

रातमाटाकै ३६ वर्षीय विजय शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा सम्लग्न हुनुहुन्छ ।उहाँको घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । रु ४५ हजारबाट शुरु गरेको कुखुरापालन व्यवसायमा लगानी बढेर रु १२ लाख पुगेको छ ।

उहाँले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहनुभएको छ । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एकपटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ ।