काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटाले संसदको ओज गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
सभामुख निर्वाचित भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताउनुभयो ।
आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिनुभएको थियो । जवाफमा उनले तटस्थ भएर संसदको गरिमा कायम राख्ने प्रतिवद्धता जनाउनुभएको हो।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निवार्चित गरेको हो । नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो भने, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।