काठमाडौं । सन २०२० का लागि सन २०१९ मा लिएको सीप परीक्षामा त्रुटी भएको भन्दै कोरियन मानव संशोधन विकास सेवा विभाग एचआरडीले नतिजा सच्याएको छ ।
एचआरडीले १४ मंसिरमा लिएको सीप परीक्षाको नतिजामा प्राविधिक समस्या भएको भन्दै पुनः परीक्षण गरी नतिजा सार्वजनिक गरेको छ ।
२०१९ मा ९२ हजार ३ सय ५६ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ८४ हजार ३ सय ८ जना परीक्षामा सहभागी भएका थिए । उक्त भाषा परीक्षामा १२ हजार १० जनाले उत्तीर्ण भएका थिए । तर कोरियाले कुल १० हजार ५० जना नेपाली श्रमिक लैजाने कोटा निर्धारण गरेको थियो ।
भाषा परीक्षामा कोटाभन्दा बढी विद्यार्थी पास भए पनि सीप परीक्षणमा भने सबै पास हुन नसकेको इपिएस कार्यालयले जनाएको छ । एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ७ सय ७३ जना मात्र उत्तीर्ण भएका थिए । जसमध्ये कृषि पशुपालन र निर्माण दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षणमा अनुत्तीर्ण भएका थिए ।
एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए ।
माग गरेसँगै विभागका महानिर्देशक भीष्मकुमार भुषाल, इपिएस सेन्टरका निर्देशक पार्क सुङ हि, इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईको संयुक्त बैठक बसी विद्यार्थीको माग बमोजिम एचआरडीमा पत्र पठाइएको थियो ।
त्यस मागप्रति सम्बोधन गर्दै एचआरडीले गत २९ पुसमा विभागलाई दिइएको स्पष्टीकरणमा १४ मंसिरमा लिइएको सीप परीक्षाको नतिजा मात्र प्राविधिक समस्या भएको जनाएको छ । त्यस्तै, अन्य सबै नतिजा ठिक भएको भन्दै पुनः परीक्षण गरेर नयाँ नतिजा सार्वजनिक गरेको छ । पुनः परीक्षणबाट एक सय ३५ जना थप पास भएको इपिएस कार्यालयले जनाएको छ ।
पछिल्लो नतिजा सार्वजनिक गरेसँगै २०१९ मा ६ हजार ९ सय ८ जना पास भएका छन् । जसमा ५ हजार ८ सय ५७ पुरुष र एक हजार ५१ महिला पास भएका छन् ।