Aafno Khabar

प्रतिनिधिसभा बैठककाे गतिराेध सकियाे, सभामुख चयन प्रकृया आजदेखि

  • January 20, 2020 प्रकाशित

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख चयनको प्रक्रिया आजदेखि सुरु हुने भएको छ । साेमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको तालिका प्रकाशन गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

याेसँगै झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाकाे बैठकले निरन्तरता पाउने भएकाे छ । यसअघि गएकाे पुसको पहिलो हप्ता बसेको प्रतिनिधि सभाको बैठक त्यसपछि सूचना टाँसेरै स्थगित हुँदै आएको थियो।

सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि आज उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने सम्भावना रहेको स्राेतले जनाएको छ ।

नेकपाले यसअघि नै राजीनामा दिन निर्देशन दिए पनि उहाँले सभामुखको उम्मेद्वार चयन नगरेसम्म प्रतिनिधिसभालाई नेतृत्वविहीन नबनाउने भन्दै राजीनामा गर्न अस्वीकार गर्दै आउनु भएको थियाे ।

उपसभामुखले राजीनामा दिएपछि संसदले नयाँ उपसभामुख पनि चयन गर्नु पर्नेछ । दुवै पदका लागि चुनावी प्रक्रियासँगै अघि बढाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।