एजेन्सी । बेलायती राजकुमार ह्यारीले शाही सदस्यको पदबाट पछि हट्नुको अन्य कुनै विकल्प नभएको बताएका छन् ।
शाही पद त्याग्ने घोषणापछि पहिलो पटक सम्बोधन गरेका ड्युक अफ् ससेक्स ह्यारीले आफू र मेगनले सार्वजनिक सम्पत्तिबिना नै रानीको सेवा जारी राख्ने निर्णय गरेको बताए ।
‘दुर्भाग्यवश, यो सम्भव थिएन’, ह्यारीले भने । कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् । उनले भने, ‘बेलायत मेरो घर हो, म यो ठाउँलाई माया गर्छु र बेलायतप्रतिको मेरो माया कहिले पनि बदलिने छैन ।’
यो महिनाको सुरुवातमा राजकुमार ह्यारी र मेगनले शाही परिवारको वरिष्ठ सदस्यताबाट छुट्टिने निर्णय लिँदै आर्थिकरुपमा स्वतन्त्र हुन चाहेको बताएका थिए ।
दक्षिणी अफ्रिकामा एचआईभी सङ्क्रमित बालबालिकाका लागि काम गर्ने संस्था सेन्टेबेलको सहयोग कोष कार्यक्रमको सुरुवात गर्दै ह्यारीले भने, ‘गएको केही हप्तादेखि तपाईँहरुले जे सुन्नु भयो, पढ्नु भयो, म त्यसको अनुमानमात्र गर्न सक्छु । म तपाईँहरुलाई राजकुमार र ड्युकका रुपमा नभइ ह्यारीका रुपमा सत्यताबारे भन्न चाहन्छु ।’
सम्बोधनको क्रममा उनले आफू हजुरआमा एजिलावेथ र कमाण्डर इन चिफ्प्रति सधैँ सम्मान गरिरहने बताए । ‘हाम्रो विश्वास रानी, राष्ट्रमण्डल र सैनिक सङ्घको सेवा सार्वजनिक सम्पत्तिबिना नै सेवा जारी राख्नु थियो तर दुर्भाग्यवश यो सम्भव थिएन’ ह्यारीले भने ।