Aafno Khabar

२० लाख रुपैयाँ ऋणले लियो वडाध्यक्षको ज्यान

  • २०७६ माघ ३ गते १०:०६ प्रकाशित

बाँके । बुधबार भारतमा मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको अन्त्येष्टि गरिएको छ ।

बुधबार भारतको बहराइचस्थित शंकर होटलमा मृत अवस्थामा भेटिएका उहाँको शव बिहीबार नेपाल ल्याइएको थियो । उहाँको शुक्रबार विहान अन्त्येष्टि गरिएको कोहलपुरका मेयर लुटबहादुर रावतले जानकारी दिनुभयो ।

खड्का रहेको होटलको कोठामा २२ पाना लामो ‘सुसाइड नोट’ भेटिएको बताइएको छ । नोटमा खड्काले आर्थिक समस्यामा फसेको उल्लेख गरेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उहाँको बैंकमा करिब २० लाख रुपैयाँ ऋण थियो ।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिँडनुभएका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिनुभएको थियो ।