Aafno Khabar

चितामा जलाउन तयार पारिएको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

  • January 16, 2020 प्रकाशित

विराटनगर । प्रहरीले विराटनगर– ८ सिंघिया घाटमा जलाउन लागेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । शवको घाटीमा चोट देखिएपछि प्रहरीले महिलाका श्रीमान गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ ।

घाट लैजाने तयारी गर्दै गर्दा बहिनीको घाँटीमा डाम देखिएपछि प्रहरीलाई खबर गरेको माइती पक्षले बताएका छन् । माइती पक्षका अनुसार प्रेमदेवीको परिवार हतार हतार केही छिमेकी र आफन्त शव लिएर विश्वकर्मा चोक पूर्व रहेको सिंघिया घाटतर्फ लागेका र शव जलाउनका लागि उनीहरुले चिता पनि तयार पारेको अवस्था प्रहरी शव नियन्त्रणमा लिएको हो ।

टोलीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ । मृतक महिलाको घाँटीमा डाम देखिएको र मृत्युबारे श्रीमानको जवाफ पनि शंकास्पद पाइएकाले मृतकका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।