Aafno Khabar
sanima bank

लिगको शीर्ष स्थानमा पुग्ने आर्मीको सपना अधुरो

  • January 14, 2020 प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाडेको हो ।

खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दिनेश हेम्जनले क्रसमा उनले उत्कृष्ट डाइभ हेड गोल गरेका थिए । जारी लिगमा नवयुगको यो दोस्रो गोल हो ।

तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा संकटाले लियो । यो बराबरीसँगै आजको खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने आर्मीको सपना पनि अधुरै भएको छ ।