Aafno Khabar

काभ्रेमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

  • २०७६ पुष २४ गते १०:४५ प्रकाशित

बनेपा । काभ्रेपलाञ्चोकमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।

बिहीबार बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ का १५ वर्षीय रोशन भण्डारी रहेका छन् ।

सो घटनामा परी पनौती–७ का स्काभेटर चालक २७ वर्षीय जीवन ताम्राकार घाइते भएका छन् । त्यस्तै बिहीबार बिहान रोशी गाउँपालिका–९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा५च ५०७४ नम्बरको सवारी पानाञ्चेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी गाउँपालिका–९ का १२ वर्षीय अनिल रानामगर रहेको प्रहरीले जनाएको छ ।