काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले संविधानको मर्मअनुरुप नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको स्वीकार गर्नुभएको छ ।
रक्षामन्त्री पोखरेलले पुरानै प्रवृत्ति हाबी भएका कारण नीति तथा कार्यक्रम र बजेट संविधानको स्पिरिट अनुसार आउन नसकेको बताउनुभएको हो ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संवैधानिक व्यवस्था र कार्यान्वयनमा लैजानेहरुबीच द्वन्द्व हुँदा विकास निर्माणमा अवरोध पुगेको बताउनुभयो ।
रक्षामन्त्री पोखरेलले समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरिक्षणमा जानुपर्नेमा बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भएमात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताउनुभयो ।