काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षको विवाद बढ्दैँ जाँदा अधिकांश जिल्ला सभापतिहरु काठमाडौँमा भेला भएर संस्थापनलाई सच्चिन सुझाव दिएका छन् ।
सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडल समूहका नेताहरुको उपस्थितीबिनै १४ औँ महाधिवेशनको मिति तोकेपछि रुष्ट देखिएका नेताहरुले नेतृत्व नसच्चिए पार्टी नै धरापमा पर्ने निष्कर्ष निकालेका हुन् ।
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किँदै गएपछि पार्टी मुख्यालय सानेपामा जम्मा भएका असन्तुष्ट पक्षका जिल्लासभापतिहरुले नेतृत्वलाई गलत निर्णयहरु सच्याएर जान सुझाएका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीच असहमति चुलिदैँ जाँदा असन्तुष्ट जिल्ला सभापतिहरुको छुट्टै भेला गरेर नेतृत्वलाई गल्ती सच्याएर जान भनेका हुन् ।
सभापति देउवाको जोडबलमा संस्थापन पक्षले विधान विपरित विभिन्न निर्णयहरु गरेपछि बिवाद झन् चर्किएको हो । संस्थापनले बहुमतका आधारमा गलत निर्णयहरु गरेकाले त्यसलाई सच्याएर अघि बढ्नुको विकल्प नरहेको सभापतिहरुको भनाई छ ।
अधिकांश जिल्ला सभापतिहरूले संस्थापनले निर्णय नसच्याएमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिको भेला गराई सभापतिका सबै निर्देशन र ११ पुसपछिका निर्णय अस्वीकार गर्ने चेतावनी समेत दिएका छन् ।
भेलाले पार्टीका नेताहरुको सहमतिबिना नै महाधिवेशनको कार्यतालिका ल्याएको प्रभावशाली नेताहरूलाई बैठक बाहिर राखेर बहुमतका आधारमा विधान संशोधन गरेको, विधान विपरीत विभागको संख्या थप गरेको विषयलाई तत्कालै सच्याइनुपर्ने माग राखेका छन् । तर संस्थापन पक्षधरका नेताहरुले भने सभापतिले सबैका कुरा सुन्दासुन्दै पनि छुट्टै भेला बोलाइनुको कुनै औचित्य नरहेको दाबी गरेका छन् ।
गत वर्ष पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको विधान कार्यान्वयनमा नल्याई केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा विधान संशोधन गरेको भन्दै नेता रामचन्द्र पौडेल पक्षले निर्णय नमान्ने चेतावनी दिदैँ आएका छन् । साथै संस्थापनले निर्णय नसच्याए केन्द्रीय कार्यालयबाट गरिएका सबै परिपत्रहरू कार्यान्वनय नगर्ने पनि नेताहरुले बताएका छन् ।