एजेन्सी । अस्ट्रेलियाको जङ्गलमा लागेको आगोका कारण ५० कराेड जीवजन्तु मरेका छन् भने तापक्रम पनि ५० डिग्री पुगेकाे छ । जसका कारण अस्ट्रेलिया प्राकृतिक प्रकाेपकाे चरम समस्यामा रहेकाे छ । जसलाइ लिएर सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड चलिरहेको छ । विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन् ।
आगोलागिका कारण चरम समस्या खेपेकाे अस्ट्रेलियामा सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरेका छन् । वर्षापछि अस्ट्रेलियाकाे तापक्रम केही घटेकाे छ । गएको सेप्टेम्बरबाट सुरु भएको आगलागीले अहिलेसम्म कम्तीमा २४ जनाको मृत्यु पनि भइसकेकाे छ भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली पनि नष्ट भइसकेको छ । आगलागी झन् भीषण बन्दै गइरहेको छ । झण्डै दुई हजार घर जलेर खरानी भइसकेका छन् ।
सोमबार अस्ट्रेलियाको राजधानी क्यानबेराको हावाको गुणस्तर विश्वका सबै ठूला शहरमध्ये सबैभन्दा खराब देखाएको थियो । अस्ट्रेलियाको गृह मन्त्रालयले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिएको थियो ।
न्यु साउथ वेल्स ग्रामीण अग्नी सेवाका कमिस्नर शेन फिट्जसिमन्सले वर्षाका कारण अग्निशमन विभाग, आपतकालीन सेवाकर्मी र आगलागीबाट प्रभावित मानिसहरुमा राहत भएको बताएका छन् । तर यसले आगो नियन्त्रणमा लिन रणनीतिक र प्राविधिक हिसाबमा चुनौती पनि भएको छ । न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजिकेलियनले यही दौरान दुई जना मानिस बेपत्ता भएको बताए ।
आगलागीलाई लिएर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निकै आलोचना भोग्दै आइरहेका छन् । देशमा आगो लगिरहँदा उनी सपरिवार छुट्टी मनाउन विदेश गएका थिए । निकै आलोचना भएपछि उनले पछि माफी पनि मागेका थिए । यही कारण प्रधानमन्त्री मोरिसनले भारत भ्रमण पनि रद्द गर्नुपरेको थियो ।
प्रधानमन्त्री मोरिसनले आगलागीबाट प्रभावितका लागि नेशनल बुशफायर एजेन्सीमार्फत दुई अर्ब अस्ट्रेलियाली डलर बराबर खर्च गर्न बताएका छन् ।