Aafno Khabar

इराकबाट सेना फिर्ता नलाने अमेरिकाकाे घाेषणा

  • २०७६ पुष २२ गते ०६:४८ प्रकाशित

एजेन्सी । अमेरिकाले इराकबाट आफ्नो सेना फिर्ता नलैजाने बताएको छ । इराकी संसदले अमेरिकीसहित सबै विदेशी सेना फिर्ता जानुपर्नेसम्बन्धी प्रस्ताव पारित गरेको तथा इराकमा रहेका अमेरिकी सेनाका जनरलले सेना फिर्ता जानुपर्ने आशयको पत्र पठाए पनि अमेरिकी रक्षा मन्त्री मार्क एस्परले सेना फिर्ता नबोलाउने बताएका हुन् ।

इराकमा तैनाथ रहेको अमेरिकी सैन्य दस्ताका प्रमुख विलियम एम सीलीले संयुक्त अपरेशनका उपनिर्देशक अब्दुल अमिरलाई पठाएको पत्रमा निकट भविष्यमै अमेरिकी सेना फिर्ता लैजाने तयारी गर्नुपर्ने उल्लेख गरेका थिए ।

तर रक्षा मन्त्री एस्परले भने अहिले नै सेना फिर्ता बोलाउने सम्बन्धी कुनै निर्णय नभएको बताएको बीबीसीले जनाएको छ । इराकको राजधानी बगदादमा रहेको विमानस्थलमा गएको शुक्रबार अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिका र इरानबीच तनाव बढिरहेको छ ।

घटना लगत्तै इराकले आफ्ना सबै आन्तरिक समस्या आफै हल गर्ने र कुनै पनि देशका सैनिकको उपस्थिति आवश्यक नहुने प्रस्ताव संसदबाट पारित गरेको थियो ।

इराकी प्रधानमन्त्री अब्दुल महदीले इराक आफै आफ्नो आन्तरिक र बाह्य समस्यासँग लड्नसक्ने बताएका थिए । उनले ईरानी सैन्य कमाण्डर मारिनु एक राजनीतिक हत्या भएको प्रस्ट पारेका थिए ।