Aafno Khabar

प्रशासनबाट छुटे लगत्तै अध्यागमनको नियन्त्रणमा १२२ चिनियाँ

  • २०७६ पुष २० गते १४:४२ प्रकाशित

काठमाडौं । नेपाल र चीनको संयुक्त अपरेशन भनिएको कारबाहीमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर छाड्न आदेश दिएको थियो । तर, काठमाडौं प्रहरी परिसर टेकुले आदेश लगत्तै अध्यागमनमा बुझाएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरुले अध्यागमन सम्बन्धी कानून उल्लंघन गरेकाले विभागको जिम्मा लगाइएको हो । सुवेदीका अनुसार पक्राउ परेका मध्ये ३० जनासँग मात्र पासपोर्ट छ । त्यसैले अन्य सबै अनाधिकृत रुपमा नेपाल बसेको ठहरिन्छ ।

बाँकी रहेकाले पनि पर्यटक भिसामा अन्य गतिविधि गर्नू अध्यागमन कानून विपरित रहेको सुवेदीको भनाइ छ । ‘थप कसुर विभागको अनुसन्धानले नै खुलाउला’, उनले भने ।

स्रोतका अनुसार विभागले अनुसन्धानपछि १ सय २२ जनालाई देश निकाला गर्ने निर्णय गर्नेछ ।