Aafno Khabar

सन्दीप चम्कदा बिग बासमा मेलबर्नको पाँचौ जित

  • २०७६ पुष १९ गते १४:४४ प्रकाशित

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग बीबीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । शनिबार भएको मेलबर्न डर्बीमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हराउँदै स्टार्सले पाँचौ जित निकालेको हो ।

मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए ।

रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । स्टार्सका सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिएका हुन । ०००