Aafno Khabar

काठमाडाैं उपत्यकासहित देशैभरि वर्षा, सिलगढीमा २५ वर्षपछि हिमपात

  • २०७६ पुष १८ गते ०६:३३ प्रकाशित

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभरिकै मौसम बदली भइ अहिले पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।

अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेकाे छ । जुम्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । शुक्रबार बिहानैदेखि हिमपात भएपछि अत्यधिक चिसो बढेको छ ।

त्यस्तै डोटीमा पनि बिहीबार रातिदेखि हिमपात भइरहेको छ । हिमपातपछि चिसो बढ्दा यस क्षेत्रको जनजीवन प्रभावित भएकोे छ । त्यस्तै २५ वर्षपछि डाेटीकाे सदरमुकाम सिलगढीमा पनि हिमपात भएकाे छ ।

आकाशमा बादल लागेपछि पानी नपरेको ठाउँको न्यूनतम तापक्रम बढेको छ भने अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।