सन् २०२० नेपालका लागि विशेष छ। नयाँ वर्षसँगै २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपल भ्रमण वर्ष २०२० को शुभारम्भ आजबाट हुँदैछ।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा बुधबार पौने चार बजेबाट सुरू हुँदैछ।
सचिवालयले तयार पारेको तालिकाअनुसार रंगशालामा सर्वसाधारण र भीआइपीलाई पौने ४ बजे र भीभीआइपीलाई ४ बजे प्रवेश समय तोकिएको छ। कार्यक्रमको सुरूवातमा मन्त्र र आध्यात्मिक संगीत गुन्जाउने तालिकामा छ। प्रमुख अतिथि, विशेष अतिथि र कलाकारहरूलाई स्वागत गरिसकेकपछि राष्ट्रिय गान बजाइने छ।
कुटुम्बको सांगीतिक प्रस्तुतिसँगै विभिन्न संस्थाको सहभागितामा परेड गरिने छ। ५ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत मन्तव्यसँगै स्मार्ट फोनमार्फत भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक गर्नेछन्। त्यसपछि विभिन्न मुलुकबाट आमन्त्रित पर्यटन मन्त्रीले शुभकामना मन्तव्य राख्नेछन् ।
करिब सवा ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गर्ने कार्यक्रम छ भने भ्रमण वर्षको राष्ट्रिय गान सार्वजनिक गरिने छ। साँझ साढे ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्ने तालिकामा छ।
साँझ पौने ६ बजे यतिको कथा लक्षित एनिमेटेड भिडियो देखाइने तालिकामा उल्लेख गरिएको छ। तीन मिनेटको भिडियो प्रदर्शन लगत्तै प्रधानमन्त्री ओली र मुलुकका चर्चित कलाकारको सहभागितामा यतिको मस्कट सार्वजनिक गरिने छ । साँझ ६ बजेदेखि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका टोलीले नृत्य प्रस्तुत गर्नेछन् । साँझ ६:१३ बजे विभिन्न गायकमार्फत ‘नेपाल हेर्न आउ’ बोल गीत प्रस्तुत हुनेछ।
साँझ ६:१८ बजेदेखि १० मिनेट सातै प्रदेशको मौलिक नृत्य प्रस्तुतिको कार्यक्रम छ भने साढे ६ बजेदेखि १० मिनेट लाखे नृत्यको प्रस्तुति रहने छ। ६:३८ बजे पर्यटन व्यवसायी योगेन्द्र शाक्यको मन्तव्यपछि विभिन्न संस्थाले फ्युजन र सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन्। करिब ७ बजे मण्डला भिडियो सार्वजनिक गरिएपछि सुशीला आर्ट एकेडेमीले कुमारी नाटक प्रस्तुत गर्नेछ।
साँझ ७:२१ बजे ‘लाइट शो’ मार्फत भ्रमण वर्ष २०२० क्याम्पेनको औपचारिक सुरुवात हुने सचिवालयले तयार पारेको तालिकामा उल्लेख छ। राती ७:२६ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्रालयका सचिव केदारबहादुर अधिकारीले धन्यवाद मन्तव्य दिइसकेपछि ७:३१ बजेपछि स्काइ ल्यान्टर्ससहित नेपाली सांगीतिक ब्याण्ड १९७४ एडीले ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतको प्रस्तुति दिनेछन्।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ। भ्रमण वर्ष उद्घाटनका लागि सचिवालयले १७ हजारवटा निमन्त्रणा पत्र तयार गरेको जनाएको छ। समारोहमा स्वदेशी तथा विदेशी आमन्त्रित १२ हजारको सहभागिता रहने छ। सजावट र आवश्यक व्यवस्थापनसहित उद्घाटन समारोहका लागि करिब दुई करोडको खर्च लाग्ने अनुमान गरिएको सचिवालयले जनाएको छ।