Aafno Khabar

श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोकिन्छ : महानिर्देशक भूसाल

  • December 23, 2019 प्रकाशित

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने बताउनुभएको छ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोक्ने बताउनुभएको हो ।

पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको जानकारी गराउदै उहाँले विभागले डण्डा लिएर हिँड्दैमा व्यवसायीहरु नसुध्रने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै महानिर्देशक भूसालले २०७४ सालभन्दा अघि विभागमा परेको मुद्दाको अबको १० दिनभित्रमा नै फरफारक गरिसक्ने योजना रहेको भन्दै जतिसक्दो छिटो पूराना मुद्दाको फरफारक गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारीमा भएका विकृति विसंगती रोक्नका लागि विभागले पछिल्लो समय एकीकृत वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफइएमआईएस) प्रणाली विकास गरेको र यसले नै यो क्षेत्रमा भएका थुप्रै विकृतिलाई रोक्ने पनि उहाँले बताउनुभयो ।

एफइएमआइएस प्रणालीलाई सजिलै रुपमा प्रयोग गर्न मिल्ने बनाउने र वैदेशिक रोजगार प्रक्रियालाई नै यही प्रणालीमार्फत अनलाइनबाटै गर्ने तयारीमा विभाग रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, विभागले एफइएमआइएसमार्फत अनलाइनबाट नै मागपत्र स्वीकृत गर्ने तयारी पनि गरिरहेको उहाँले जानकारी दिनुभयो । विदेशस्थित नेपाली नियोगले मागपत्र प्रमाणीकरण गरेपछि पूर्व स्वीकृतिका लागि म्यानपावरका प्रतिनिधि फाइल बोकेर श्रम कार्यलय जानुपर्ने अवस्था छ । तर यो अवस्थाको अन्त्यका लागि विभागले काम गरिरहेको छ ।

निर्णय भए, तर काम भएन

विभाग र बोर्डको कार्य क्षेत्रभित्र पर्ने काम पनि नभएको र भएका काम पनि नतिजामुखी नभएर खाली निणर्यमा मात्र सीमित रहेको सहभागीको भनाइ थियो ।

बोर्डबाट हुने कल्याणकारी काम अब पालिकाबाटै हुनेगरी निर्णय भए पनि यसको प्रभावकारिताबारे भने प्रश्न उठेको छ । धेरैले जानकारी नभएकाले अहिले पनि पालिकामार्फत निवेदन आउन सकेका छैनन् ।

तर बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बोर्ड हिँड्न खोजेको तर विभिन्न कारणले बीचमा नै लड्ने समस्या भएकाले अब मिलेर अघि बढ्दै बोर्डबाट थप काम गर्ने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु