Aafno Khabar

९ महिनामा ३ खर्ब ६६ अर्ब ऋण संकलन, आन्तरिक ऋणमा उच्च निर्भरता

  • आफ्नो खबर
  • April 20, 2025 प्रकाशित

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म सरकारले कुल ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन समितिको कार्यालयका अनुसार, सो रकममध्ये २ खर्ब ९१ अर्ब १४ करोड (७९.५३ प्रतिशत) आन्तरिक र ७४ अर्ब ९५ करोड (२०.४७ प्रतिशत) बाह्य ऋण रहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चैत मसान्तको प्रतिवेदनअनुसार आन्तरिक ऋणको प्राप्ति उल्लेखनीय देखिए पनि बाह्य ऋणको प्राप्ति भने निकै कम देखिएको छ।

उक्त अवधिमा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि २ खर्ब ३ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ। जसमा आन्तरिक ऋणका लागि १ खर्ब ७० अर्ब ९ करोड र बाह्य ऋणका लागि ३२ अर्ब ९३ करोड खर्च गरिएको हो।

यससँगै चैत मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। जसमध्ये १३ खर्ब १ अर्ब ९४ करोड आन्तरिक र १३ खर्ब ६५ अर्ब ३२ करोड बाह्य ऋण रहेको छ।

हालसम्म २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ ऋण थपिएको छ। विनिमय दरमा आएको परिवर्तनका कारण मात्रै ७० अर्ब ९ करोड रुपैयाँ ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ। अमेरिकी डलर तथा अन्य विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले वैदेशिक ऋणमा असर परेको हो।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणबाट ५ खर्ब ४७ अर्ब उठाउने लक्ष्य लिएकोमा चैत मसान्तसम्म ३ खर्ब ६६ अर्ब ९ करोड संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ६७.९३ प्रतिशत हो। आन्तरिक ऋणको प्राप्ति ८८.२२ प्रतिशत र बाह्य ऋणको ३४.५४ प्रतिशत मात्र रहेको छ।

आर्थिक वर्षको बाँकी तीन महिनामा सरकारले अझै १ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ ऋण उठाउनु पर्नेछ। जसमध्ये ३८ अर्ब ८५ करोड ९४ लाख आन्तरिक र १ खर्ब ४२ अर्ब ४ करोड २२ लाख बाह्य ऋण हुने जनाइएको छ।

सरकारले चालु आर्थिक वर्षको लागि ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड विनियोजन गरेकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको छ। यो कुल विनियोजनको ६२.६७ प्रतिशत हो।

चैत मसान्तसम्म प्रत्येक नेपालीको भागमा लगभग ९० हजार रुपैयाँ ऋण पर्ने देखिएको छ। गत असारमा यो रकम करिब ८३ हजार रुपैयाँ थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार देशको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

विनिमय दरको असरले पछिल्लो सात वर्षमध्ये चार आर्थिक वर्षमा ऋण घाटा देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ५९ अर्ब १५ करोडको घाटा भए पनि २०८०/८१ मा ४ अर्ब २३ करोडको नाफा देखिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार आयोजनाहरू समयमै सम्पन्न नभएकाले बाह्य ऋणको प्राप्ति कम भएको हो। आन्तरिक ऋण कहिलेकाहीं चालु खर्चमा समेत प्रयोग भइरहेको उनले जनाए।