Aafno Khabar

रायमाझीको माओवादी प्रेम, ‘एमाले प्रवेश गरेको छैन’

  • आफ्नो खबर
  • July 28, 2021 प्रकाशित

काठमाडौं । नेपमा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा कहिल्यै प्रवेश नगरेको बताएका छन् ।

बुधबार सर्वोच्च अदालत आफुहरुको सांसद पद पुर्नबहालीको माग गर्दै रिट निवेदन दिन पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको दाबी गरेका हुन् । रायमाझीले रिटमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको समेत दाबी गरेका छन् । उनको रिटमा आफू माओवादी केन्द्रकै नेता भएको उल्लेख पनि गरेका छन् ।

रिटमा उनले माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।

नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, सप्रभु शाह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गर्दै संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद् सचिवालयले उनीहरुलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो ।

सांसद पदबाट हटाएको करिव साँढे महिनापछि चारै जना बुधबार सर्वोच्च अदालत गएका हुन् । माओवादीप्रति पुनः मोह जागेका रायमाझी सहितका चार नेतामाथि मन्त्री पदको लोभी र माओवादी आन्दोलनलाई धोका भन्दै विरोध भइरहेको छ ।