Aafno Khabar

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन केपी ओली तयार

  • आफ्नो खबर
  • July 22, 2021 प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्षात्मक प्रणाली अपनाउन तयार भएका छन् । पार्टी एकताका लागि उनी लचिलाे बनेका हुन् ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफू कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, एकताका लागि हदैसम्म लचिलो बन्न तयार रहेको बताए । बैठकमा ओलीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

आफूले यति भन्दा पनि माधव नेपालले पार्टी एकताप्रति इच्छा नदेखाएको उनकाे भनाइ छ । ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताए पनि यसबारे नेता नेपालको कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि माधव नेपाल पक्षले ओलीले अध्यक्षबाट राजीनामा दिएमा मात्र एकता हुने बताएका थिए ।