Aafno Khabar

प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले विश्वासकाे मत लिने, यस्ताे छ कार्यसूची

  • आफ्नो खबर
  • May 10, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार विश्वासकाे मत लिन लागेका छन् । लामाे समयकाे राजनीतिक रस्साकस्सी पछि उनले विश्वासकाे मत लिन लागेका हुन् । साेमबार दिउँसाे १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले आफ्नो सरकारका लागि विश्वासको मत लिन लिनेछन् ।

बैठकको प्रारम्भमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिने कार्यसूची रहेकाे छ ।

त्यसपछि बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रस्ताब टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन् । प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित भएर दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहने बताइएकाे छ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि अन्य कक्षमा मतदानको व्यवस्था गरिएकाे छ ।

संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थानुसार नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ। सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय दिन पाउनेछन्, अन्यथा सोमबारको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नेछन् ।

प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतक प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार छ ।

कांग्रेस र माओवादीले विश्वासको मतको विपक्षमा मतदान दिने जनाइरहँदा जसपाले भने कुनै ह्वीप जारी नहुने जनाएको छ । यद्यपि पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता उपेन्द्र यादवले विपक्षममा मतदान गर्ने जनाएका छन् । नेकपा एमालेकाे नै माधव नेपाल पक्षले के गर्छन् भन्ने यतिबेलासम्म टुंगाे लागेकाे छैन ।