Aafno Khabar

कात्तिक ७ गतेभित्र क्लिन फिड कार्यान्वयन गर्न सरकारलाई निर्देशन

  • आफ्नो खबर
  • September 21, 2020 प्रकाशित

काठमाडौं । आउँदो कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड नीति लागू गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आउँदो कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

संसद्को विकास तथा प्रविधि समितिले २०७७ कात्तिक ७ गतेभित्र बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रसारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रसारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो ।

ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बारेमा पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न समितिले निर्देशन दिएको छ ।

समितिमा सोमबार विज्ञहरु र सञ्चार मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलपछि स्वदेशी टिभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टिभीको प्रसारणमा नेपाली विज्ञापन नराख्न पनि निर्देशन दिएको छ ।