काठमाडौं । विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नुभएको थियो ।
सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको थियो ।