काठमाडौं । विश्वमा महाममारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपालमा महिना दिनदेखि लकडाउन छ । लकडाउनका कारण नेपालका नेपालमा कलकारखानादेखि उद्योगसम्म ठप्प छन् ।
मानिसहरु घरबाट निस्कन पाएका छैनन् भने दैनिक ज्यालादारीमा काम गर्ने मजदुर दैनिक छाक टार्न समस्यामा परेका छन् । कलकारखाना, उद्योगधन्दा ठप्प भएपछि यसको सबैभन्दा बढी मार मजदुर र सडकमा अलपत्र परेका असहायमा परेको छ ।
उनीहरुको दैनिकी दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । मजदुर र असहाय नागरिकको दैनिकी कष्टकर बनेपछि सरकार र विभिन्न दाताहरुले उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग गरेका छन् ।
कष्टकर जीवन व्यथित गरेका यस्तै नागरिकलाई सहयोगको काम गरेको एउटा सहयोगी संस्था हो क्लब– २८ । काठमाडौंको बागबजारका युवाको ‘क्लब–२८’ ले सडकमै पुगेर खान खुवाउने अभियान सञ्चालन गरिरहेको छ ।
क्लब–२८ मा आवद्ध युवा रत्नपार्क, टुँडिखेल, वीर अस्पतालमा गरी दैनिक झण्डै पाँच सय जनालाई खाना खुवाइरहेका छन् । उनीहरुलाई खाना खुवाउन दैनिक करिब छ हजार रुपैयाँ खर्च हुने गरेको अभियानमा संलग्नहरुले जानकारी दिएका छन् ।
लकडाउन अवधिभर समस्यामा परेका मानिसहरुलाई खाना खुवाउने योजना बनाइएको क्लबले जनाएको छ । क्लबलाई खाना वितरणकालागि आर्थिक व्यवस्थापनमा नेपाली कांग्रेसका युवा नेता प्रगतिमान रञ्जितले सहयोग र संयोजन गरिरहनुभएको छ ।
“केही दिन मैले आफैं खर्च गरें, अरु धेरै दिन साथीहरुले सहयोग गर्नुभएको छ । कसैले एक दिन, कसैले २–३ दिनसम्म पनि खाना खुवाउन सहयोग गर्नुभएको छ ।” नेता रञ्जितले भन्नुभयो । उहाँले बैशाख २० गतेसम्म पुग्ने गरी आवश्यक खाद्यान्न सामग्री खरिद गरिसकिएको पनि बताउनुभयो ।
“सुरुमा असाहय अशक्तहरुलाई राहत सामाग्री बाँड्यौं । तर, राहत सामग्री सदुपयोग नभएको देखेपछि खाना खुवाउन सुरु गरेका हौं ।” नेता रञ्जितले भन्नुभयो । क्लवले समस्यामा परेका मानिसमात्रै नभएर सडकमा रहेका कुकुरलाई पनि खाना खुवाइरहेको उहाँले बताउनुभयो छ ।